आजबाट अमरापुरी महोत्सव सुरु, पाँच करोड आम्दानी हुने अनुमान

0


श्रीधर उपाध्याय
गैँडाकोट, ३ असोज । “युवाहरुको आह्वान आगन्तुक पर्यटकलाई सम्मान” नाराका साथ ऐतिहासिक अमरापुरी महोत्सव आज मंगलबारबाट सुरु हुँदै छ । अमरापुरी १६ नम्बर चोक शिवालय मन्दिरबाट बिहान १० बजे महोत्सवको शोभायात्रा निस्कने छ । एकसय भन्दा बढी संघसंस्थाको सहभागिता रहने अनुमान गरिएको शोभायात्रामा हजारौँ स्थानीयको उपस्थिति रहने आयोजक संस्था रेन्बो युथ क्लबले जनाएको छ । सोमबार भएको पत्रकार सम्मेलनमा मंगलबार बिहान १० बजे निस्कने शोभायात्रा लक्ष्मी उच्च माविको प्राङ्गणमा रहेको प्रदर्शनी स्थलमा पुग्ने जानकारी दिईएको छ । मंगलबारबाट सुरु हुन लागेको ऐतिहासिक अमरापुरी महोत्सवलाई नेपाल सरकारका सिंचाइ मन्त्री सञ्जय कुमार गौतमले समुद्घाटन गर्ने कार्यक्रम रहेको आयोजक संस्थाका उपाध्यक्ष जीवन पौडेलले बताउनुभयो ।
नेपालीहरुको महान चाड बडादशैँको पूर्व सन्ध्यामा आयोजना गर्न लागिएको अमपुरी महोत्सवको एक लाखभन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । व्यावासायिक रूपमा राखिएका स्टल, टिकटबाट करिब ५ करोड आम्दानी गर्ने क्लबको उद्देश्य रहेको छ । समुद्घाटनको पहिलो दिन निःशुल्क रुपमा अवलोकन गर्न पाइने छ । बुधबारबाट टिकट लाग्ने उपाध्यक्ष पौडेलले बताउनुभयो । पौडेलका अनुसार सर्वसाधारणका लागि ५० रुपैँया, विद्यार्थीका लागि ३० रुपैँया, अपांग भएका र ज्येष्ठ नागरिकले परिचय पत्र देखाएमा निःशुल्क अवलोकन गर्न पाइने व्यवस्था मिलाइएको छ । समुद्घाटनका दिन स्थानीय कलाकारहरुको नृत्य तथा गायनका प्रस्तुति रहनेछन् ।
सभा एक सय स्टल रहेको अमरापुरी महोत्सवमा व्यावसायिक प्रवद्र्धनका लागि एक सय स्टल, कृषि तथा अन्य प्रदर्शनीका लागि १५ स्टल रहेका छन् । सबै स्टल बुकिङ भइसकेको उपाध्यक्ष पौडेलले बताउनुभयो ।
महोत्सवको मुख्य आकर्षणका रुपमा प्रचार गरिएको ९ फिट अग्लो दुर्गाको मूर्ति घटस्थापनाको दिनदेखि मात्रै अवलोकन गर्न सकिने उपाध्यक्ष पौडेलको भनाइ छ ।
अमरापुरीको लक्ष्मी उच्च माविको खेल मैदानमा हुने महोत्सवमा स्थानीय उत्पादनको जानकारी, उत्पादित वस्तुको प्रवद्र्धन, कला संस्कृतिको जगेर्नालाई प्रमुख जोड दिने महोत्सव मूल समारोह समितिका संयोजक विवेक न्यौपानेले बताउनुभयो ।
महोत्सव अवधिभर राष्ट्रिय कलाकारहरुको विशेष सांगीतिक प्रस्तुति रहनेछ । लोकदोहोरी क्षेत्रका गायक प्रजापति पराजुली, पशुपति शर्मा, शिव परियार, रमेशराज भट्राई, इन्दिरा जोशी, आस्था राउत, कमल खत्री, सुनिल गिरी, दीपक खड्का, चिरञ्जीवी भण्डारी, ढाकाराम पौडेल, राजेन्द्र कँडेल, कर्णराज गिरी, रमेश श्रेष्ठ, पाँडे र जिग्री ब्रो, दिनेश काफ्ले, दिनेश थापा, उमा खनाल, एसएसएस ब्यान्ड, ज्योति मगर लगायतका दुई दर्जनभन्दा बढी कलाकारहरुको बेजोड प्रस्तुति रहने छ । यस्तै चर्चित जादुगर बलराम सरकारको पनि उत्कृष्ट जादुगरी हेर्न पाइने छ । महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथ पत्रकारहरुबीच पानी पिउने प्रतियोगिता, महिलाहरुबीच हुने दुनाटपरी गाँस्ने प्रतियोगिता, अन्तरस्कुल वक्तृत्व कला प्रतियोगिता, भजन प्रतियोगिता, अमरापुरी डान्स आइडललगायतका मनोरञ्जनात्मक प्रतियोगिता हुने संयोजक विवेक न्यौपानेले बताउनुभयो ।

Share.

Leave A Reply