असफलता नै सफलताको सूत्र

0


गैँडाकोट ।  सोमबार दिउसो विजय सामुदायिक शिक्षा सदनको प्रागंण खचाखच थियोे । विजय फाउण्डेशन नेपाललले आयोजना गरेको सेप द Çयुचर कार्यक्रममा नवलपुरका हजारौँ विद्यार्थीको सहभागिता थियो । विभिन्न क्षेत्रमा अनुभव संगालेका व्यक्तित्वहरुले विद्यार्थीहरुलाई प्रेरणात्मक अनुभव आदान प्रदान गरेका छन् । प्रतिनिधि सभा सांसद तथा काँग्रेस युवा नेता गगन थापा, पूर्व डिआइजी गगन थापा, दृष्टिविहिन प्रेरक व्यक्तित्व बासुदेव अधिकारी, सहकारी अभियन्ता खेमराज सापकोटा, विजय लघुवित्तका प्रमुख अधिकृत वसन्तराज लम्साल, ब्लाइण्ड रक्स संस्थाकी सचिव सुप्रभा अर्याल र सुरेन्द्र विक्रम मल्लले विद्यार्थीहरुलाइ जीवनको लक्ष्य र दिशानिर्देशका लागि अनुभव बाँड्नुभएको थियो । स्पष्ट दृष्टिकोण नभई बढ्दो विदेश पलायनको पद्धति बढ्दो अवस्थामा समाजमा अनुकरण योग्य काम गरेका व्यक्तिहरुको अनुभवले विद्यार्थीहरुलाई आफ्नो भविष्यको बाटो तय गर्न सजिलो हुने विश्वासका साथ कार्यक्रमको आयोजना गरिएको विजय फाउण्डेशन नेपालका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभयो ।

कसले के भने

गगन कुमार थापा      

प्रतिनिधि सभामा प्रतिपक्षका तर्फबाट सरकारको कडा आलोचना गर्न सीपालु सांसद गगन कुमार थापा गैँडाकोटमा आएर भने “कमेण्ट गर्ने बानी छोड्नुस, समस्याको समाधान तर्फ सोच्नुस” । सधैँ जसो कार्यकर्ताका अघि भाषण राख्ने थापाले सोमबार गैँडाकोटमा नवलपुरका विद्यार्थीलाई राष्ट्रका लागि भोली केही गर्ने जिम्मेवारी आजका विद्यार्थीको भएको बताउनुभयो । जीवनको उद्देश्य होस् या समाजको परिवर्तन त्यसका लागि सधैँ प्रश्न गर्न सक्नुपर्ने थापाको सुझाब थियो । समाजका हरेक व्यक्तिले आफूले पाएको पद र जिम्मेवारीको भूमिका निर्वाह गर्न कटिवद्ध भएर नलागेसम्म समाज र देश परिवर्तन नहुने थापाको भनाइ थियो । असफलता नै सफलताको सुत्र भएको थापाले बताउनुभयो ।
कञ्चनपुरमा बलात्कारपछि मृत्युभएकी निर्मला पन्तका विषयमा विद्यार्थीले राखेको प्रश्नमा थापाले “निर्मलाको न्याय, नागरिकको आत्मसम्मान र निर्मलाका अभिभावकको भावनामा सरकार कठोर बनेको प्रतिक्रिया दिनुभयो”  । थापाले निर्मलाको न्यायको लागि सरकार नै जिम्मेवार हुने बताउनुभयो । निर्मलाको केसका बारेमा पोलिटिकल डिल हुँदा समस्या भएको थापाको भनाइ थियो ।
लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउन नीतिको कार्यान्वयन र नेतृत्वको व्यवहारमा परिवर्तन आउनुपर्ने थापाको भनाइ छ । राष्ट्रपति, संस्था भएको बताउँदै थापाले राष्ट्रपति विवादमा आउने  कारण नियाल्दा नेपालमा लोकतन्त्र संस्थागत अझै हुन नसकेको भान हुने बताउनुभयो । राष्ट्रपति बाटोमा हिंड्दा सन्नाटा छाउने, पूर्व राजा रेष्टुरेन्टमा नाच्ने जस्ता कुराले गणतन्त्र कहिल्यै बलियो नहुने थापाले बताउनुभयो ।


रमेश खरेल
पूर्व डिआइजी
जीवनमा सफल हुन सजिलो नहुने पूर्व डिआइजी रमेश खरेलले बताउनुभयो । लक्ष्यमा पुग्ने बाटो खतरापूर्ण छ तर चुनौतीमाथि अदम्य साहस राखियो भने सफलता हुने खरेलको भनाइ छ । अनुभव, शिक्षा र सिकाइका लागि विदेश जानुपर्ने तर पलायन हुन नहुने खरेलले बताउनुभयो । २९ वर्षको आफ्नो जीवनमा एक जना मात्र सुधार गर्न सकेको स्मरण गर्दै खरेलले सकारात्मक काम थोरै भए पनि त्यसले सन्तुष्टि दिने खरेलले बताउनुभयो । नेपाल पछि पर्नु भनेको भ्रष्टाचार नै प्रमुख कारण भएको खरेलको बुझाइ छ ।

 

सुशासनका सन्दर्भमा विदेशमा भएका अभ्यासहरुलाई नेपालमा लागू गर्न सक्ने हो भने, त्यसका लागि नेपालीहरु फर्किएर देशको प्रतिष्ठा जोगाउन आवश्यक भएको यसका लागि भाइबहिनीहरुको ठूलो योगदान हुन सक्ने खरेलले बताउनुभयो । खरेलले विद्यार्थीहरुलाई भोलिको भविष्यको लागि, देशको लागि, मातृभूमिको सकरात्मक परिवर्तनका लागि आजै भविष्यको बाटो कोर्नुपर्ने बताउनुभयो । कुनै पनि काममा दृढतापूर्वक लाग्न सकियो भने जिवन सफल बनाउन सकिने खरेलले बताउनुभयो ।
निर्मला पन्तका विषयमा विद्यार्थीले राखेको प्रश्नमा रमेश खरेलले भन्नुभयो “निर्मला पन्तको विषयमा अरु नेपाली जस्तै म पनि चिन्तित छु, मेरो चाहना पनि उनले न्याय पाउनु पर्दछ भन्ने हो, सही स्थानमा सहि व्यक्ति नहुँदा आज निर्मलाको केश रुग्ण बनेको छ । आशा छ नेपाल प्रहरीले चाँडै अनुसन्धानबाट सत्य पत्ता लगाउला ।”


सहकारी अभियन्ता, विकू बचतका संस्थापक, विजय एफएमका संस्थापक अध्यक्ष खेमराज सापकोटाले समाज परिवर्तनका लागि र भविष्य निर्माणका लागि आफैबाट सुरुवात गर्नुपर्ने बताउनुभयो । सापकोटाले विदेश पलायन र वैचारिक पालयन अहिलेको समाजको समस्या रहेको बताउनुभयो । विदेश गएर उतै पलायन हुनु र मैलै गर्न सक्दिन, यो अरुले गर्ने हो, यो ठूलाले गर्ने हो भन्ने सोचाई राख्ने वैचारिक पलायनलाई हटाउनु आवश्यक राखेको बताउनुभयो ।


विजय लघुवित्तका सिइओ वसन्तराज लम्सालले सफलताका लागि आफू माथि विश्वास गर्नुपर्ने बताउनुभयो । तनहुँको दुर्गमा गाउँमा जन्मिएर पनि आफ्नो लक्ष्यका लागि दृढ भएर आफू माथि विश्वास गरेर अघि बढे अहिले आफ्नो जीवन प्रति सन्तुष्ट रहेको बताउनुभयो । विदेशमा आफ्नो जीवन समृद्ध बनाउन सकिएला तर आफ्नो पहिचान र खुसी प्राप्त नहुने भएका कारण स्वदेशमा आएर कर्मशील रहेको बताउनुभयो । नेपालमा अवसरका ढोकाहरु प्रयाप्त रहेको बताउँदै आफ्नो लक्ष्यमा दृढ भएर अघि बढ्न सुझाब दिनुभयो । लम्सालले विदेश जाने तर विदेश जाने आफ्नो लक्ष्य सुनिश्चित भएर मात्र जानुपर्ने बताउनुभयो । नेपालमा केही गर्नुपर्दछ भनि विजय लघुवित्त सञ्चालन गरिरहनुभएको लम्सालले यस अघि विभिन्न देशमा काम गर्नुभएको छ ।


जन्मजात दृष्टिविहिन, त्रिभूवन विमानस्थलका कर्मचारी, भूकम्पपछि भूकम्प पीडितका लागि सहयोग गर्दै आउनुभएका ब्राइट स्टारका सामाजिक अभियन्ता बासुदेव अधिकारीले आफ्नो आवश्यकता, आफ्नो लक्ष्य र आफ्नो बाटो पहिले नै तय गर्नुपर्ने बताउनुभयो । आहार, व्यवहार र विचारलाई सन्तुलित रुपमा अघि बढाउन सकियो भने विद्यार्थी जीवन सदृढ हुने बताउनुभयो । अधिकारीले जिन्दगीमा भूत देखि डराएर वर्तमानमा कराएर सफलता प्राप्त हुन नसकिने भएकाले जीवनका समस्यालाई चुनौतीका रुपमा लिएर अघि बढ्ने प्रण गर्नुपर्ने बताउनुभयो ।


ब्लाइण्ड रक्स संस्थाकी  सुप्रभा अर्यालले जीवनमा अवसरमा अन्तिम समय सम्म पनि प्राप्त हुने भएकाले हार खान नहुने बताउनुभयो । अर्यालले क्रिकेट खेलको एक ओभरको ६ बलको उदाहरण पेश गर्दै अन्तिम बलसम्म पनि छक्का हान्न सक्ने सम्भावना रहने बताउनुभयो । समस्यालाई समस्या मानेर बस्नुभन्दा चुनौती मानेर समाना गर्ने बानि बसाल्यौँ भने जीवनमा सफलता नै सफलता रहेको अर्यालको भनाइ छ ।


विदेशमा पुगेर डिग्रि हासिल गरी नेपाल फर्किनुभएका सुरेन्द्र विक्रम मल्लले विदेश जानु पूर्व नै आफूले त्यहाँबाट के लिएर फर्कने भन्ने कुराको पहिले नै निश्चित गर्नुपर्ने बताउनुभयो । ३७ लाख नेपाली नागरिक अहिले बाहिर रहेको आंकडा प्रस्तुत गर्दै मल्लले विदेशमा बिताएको जीवनले नेपाललाई के दिन सक्याँै भन्ने ठूला कुरा रहेको बताउनुभयो । कार्यक्रमको सहजीकरण विजय फाउन्डेसनका सदस्य केशव सापकोटाले गर्नुभएको थियो ।

 

Share.

Leave A Reply