अमलटाँरीमा आए ३८ हजार पर्यटक, दुई करोड आम्दानी

0

लक्ष्मी पौडेल ,
अमलटाँरी । होमस्टे नं ९ का कृष्ण महतोको घरमा कहिल्यै पाहुना टुट्दैन् । नवलपरासीको कावासोती नगरपालीका १५ अमलटाँरी सामुदायीक होमस्टेमा बस्न आएका देश तथा विदेशका पाहुनालाई स्वागत सत्कार बासको चाजोपाँजो मिलाउन कृष्ण मात्रै होइन, उनकी श्रीमती नीमकुमारी महतो र दुई वुहारीलाई पनि भ्याई नभ्याई हुन्छ । होमस्टेमा बस्न आउने पाहुनाले एउटा कोठाको ६ सय तिर्नुपर्छ । एउटा होमस्टेमा दुई कोठा छन् । अनी शाकाहारी खानाको १ सय ३० रुपैया, मांसाहारी खानाको २ सय ५० र खाजाको १ सय रुपैया तिर्नुपर्छ । महतो परिवारमा यसरी कमाएको पैसाले ठुलो परिवर्तन ल्याएको छ ।

कावासोतीको बाघखोरमा रहेको अमलटाँरीमा हाल २३ वटा होमस्टे संचालनमा छन् । थारु, बोटे र मुसहर समुदायले सञ्चालन गरेको होमस्टेमा अहिलेसम्म ३८ हजार पर्यटक आएको होमस्टे व्यवस्थापन समितीका अध्यक्ष प्रेमशंकर मर्दनीयाले बताए । “हामीले दैनीक तथ्यांक राख्ने गर्छौ, हाम्रो होमस्टे सञ्चालनमा आएपछी देश र विदेशबाट ३८ हजार भन्दा बढी पर्यटक आईपुग्नुभएको छ ।” ३८ हजार पर्यटकबाट अमलटाँरीले हालसम्म साढे २ करोड बराबरको आम्दानी गरेको छ । २०७० साल जेठबाट सञ्चालनमा ल्याइएको होमस्टेमा पाहुनाहरुका लागी थारु, बोटे, मुसहर संस्कृती प्रर्दशनी, जंगल सफारी, जिप सफारी, हात्ती शयर, नारायणी नदीमा डुंगा शयर, गोरुगाडामा शयर, पंछी अवलोकन, हात्ती स्नान थारु गाउँ भ्रमण, टावर नाईट स्टे र प्राकृतीक मनोरम दृष्यहरुको अवलोकन पनि गराईन्छ । “कहिलेकाँही त पाहुनाले होमस्टे भरीन्छन् र अन्त पनि पठाउँछौ । हाम्रो हिसावकिताव अनुसार यो ४ बर्षको अवधीमा आम्दानी साढे दुई करोड भएको छ ।” होमस्टे व्यवस्थापन समितीका अध्यक्ष मर्दनीयाले भने ।

गाउँमा होमस्टे सञ्चालनको अवधारणा अध्यक्ष मर्दनीयाकै हो । वन र जिवजन्तुको संरक्षणमा लागेका मर्दनीयाले मध्यवर्ती क्षेत्रका बासिन्दाले अन्यत्र गरेको कामको सिको गर्दै होमस्टेको अवधारणा ल्याएका हुन् ।

जीवनशैली स्वस्थ बन्दै

अमलटाँरीमा होमस्टे सञ्चालनमा आएपछी त्यहाँका स्थानीयको जिवनले पनि कोल्टे फेरेको छ । विपन्न र पिछडीएको समुदायमा नै होमस्टे बनेपछि स्थानीयमा आम्दानी संगै चेतना पनि वृद्धी भएको छ । संस्कृतीको जर्गेना र ज्ञान पनि बढेको छ । अध्यक्ष प्रेमशंकर मदर्नीयाका अनुसार महिला तथा पुरुषले विभिन्न तालीम तथा सिपमुलक र आयआर्जनमुलक काम सुरु गरेका छन् । देशविदेशबाट आउने पाहुनाका कारण फरक फरक समुदायको संस्कृती आदानप्रदानका साथै रहनसहन मा पनि परिवर्तन आएको छ । स्थानीय कमला थनेत भन्छीन्, “पहिले गाउँमा कुनै पनि घर सफा हुँदैनथे, होमस्टेकै कारण मानिस पनि सफासुग्गर हुन थालेका छन्, घर, आँगन बाटो र वरीपरीको वातावरण पनि सफा हुन्छ ।” कृष्ण महतोले होमस्टे सुरु गर्ने बेला आफुहरुलाई देखेर पाहुनाले घिन मान्छन की भन्ने भएकोमा अहिले आफु सफासुग्गर हुन सिकिएको भन्दै खुसी व्यक्त गरे । गाउँमा छोराछोरीलाई स्कुल नपढाउने अभिभावकले पनि अहिले स्कुल पठाउन थालेका छन् । आफ्नै समुदायको भाषा बोल्ने उनीहरुलाई नेपाली भाषा संगै सामान्य अग्रेंजी पनि सिकाईएको छ । होमस्टे व्यवस्थापन समितिले नै समय समयमा तालीम दिदै आएको छ । नीमकुमारी महतो भन्छीन्, भातलाई राईस भन्ने, खाजालाई ब्रेकफास्ट भन्ने, पानीलाई वाटर भन्ने, वेलकम भन्ने थ्यांक्यु भन्ने कुरा सिकेको हो ।

होमस्टेमा स्थानीय परिकार नै पाक्ने गर्छन्, थारु समुदायले खाने चिचर र घोगी अमलटाँरीमा मुख्य खाजाको रुपमा छ तर गाउँमा आउने पाहुनाको चाहना अनुसार स्थानीयलाई कुक तालीम पनि दिईएको छ र पाहुनाको चाहना अनुसार खाना पनि खुवाईने गरीन्छ ।
थारु र बोटे समुदायको संस्कृतीबारे जानकारी र मनोरञ्जनका लागी साँझ ८ बजेदेखी १० बजेसम्म अमलटाँरीको साँस्कृतीक भवनमा झुमरा नाच, लाठी नाच, बोटे नाच लगाएत स्थानीय स्थानीय संस्कृती देखाईन्छ । जसका कारण संस्कृतीको पनि जर्गेना र नयाँ पिढिलाई जानकारी पनि भएको अध्यक्ष मर्दनीयाको भनाई छ ।

चितवन राष्ट्रिय निकुञ्जको नजिकै रहेका कारण यहाँ मध्यवर्ती सामुदायीक बन छ । तर केही बर्ष अघिसम्म संरक्षण पनि हुन नसकेको र जंगली जनावरको त्रासमा रहेका स्थानीयले अहिले बनको संरक्षण गर्न थालेका छन् । बनलाई व्यवस्थीत बनाउन थालीएको छ । फलस्वरुप निकुञ्जमा पाईने वन्यजन्तु मध्यवर्ती सामुदायीक बनमा पनि देख्न सकिन्छ ।

Share.

Leave A Reply