अब महिला खेलाडीको पालो

0

सम्पादकीय 

०७४ साल मंसिरमा थाइल्यान्डमा भएको आईसीसी महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको एसिया क्षेत्र छनोट खेलेपछि नेपाली महिला क्रिकेट टिम गुमनाम भयो । झन्डै १५ महिने यो अवधिमा नेपाली क्रिकेट टिम बेवारिसे बन्दा धेरै खेलाडी निराश बने, कतिले खेल्नै छाडे ।

लामो समयसम्म बेखबरजस्तै बनेको नेपाली महिला क्रिकेट टिमले बल्लतल्ल उठ्दै थाइल्यान्डमै आफ्नो खेल देखायो । नेपाली टिम थाइल्यान्ड महिला टी–२० क्रिकेट स्मास प्रतियोगितामा भाग लियो र दोस्रो भयो । आयोजक थाइल्यान्डसँग पराजित हुँदै उपविजेता भए पनि लामो समयदेखि खेलविहीन बनेका नेपाली महिला क्रिकेट टिमले यस्तो स्तरको प्रदर्शन गर्नु ठूलो कुरा नै हो ।

नेपाली महिला क्रिकेट टिम धुमिलो तयारी लिएर थाइल्यान्डमा सफा नतिजा खोजिरहेका थिए । नेपाल फाइनलसम्म राम्रो मात्रै हैन निकै राम्रो नतिजा निकाल्दै उपाधि नजिक पुगेको थियो । समूह चरणमा र सेमिफाइनलमा उत्कृष्ट जित निकालेको टोली फाइनलमा भने नराम्ररी पराजित भयो ।

यसपटक नेपाल इतिहास रच्नबाट एक कदमले मात्रै चुकेको हो । फाइनलमा नेपालको भेट बलियो प्रतिद्वन्द्वी आयोजक थाइल्यान्डसँग भयो । एसोसिएट राष्ट्रमा महिला क्रिकेट टिममध्ये थाइल्यान्ड नम्बर एक टिममै गनिन्छ । त्यसकारण पनि नेपाललाई त्यो उपाधि जित्नु सगरमाथाको चुचुरोमा टेक्नुभन्दा कम थिएन । नभन्दै नेपाल ७० रनको फराकिलो अन्तरले पराजित भएसँगै उपविजेता बन्यो ।

यतिबेला नेपाली महिला क्रिकेट टिमलाई विभिन्न तरिकाले हेर्ने गरिए पनि अभावका बीच फाइनलमा पुग्नु सामान्य उपलब्धि होइन । त्यहीँ थोरै विचार गरेर यिनीहरु पनि केही हुन् भन्ने सोचिदिएको भए उपाधि जित्ने बलियो सम्भावना पनि देखिएको छ । करिब डेढ वर्षदेखि कुनै प्रतियोगिता खेल्न नपाएको नेपाली टिमबाट के अपेक्षा होला ? कस्तो नतिजा ल्याउला ? यो पक्ष निकै दुःखदायी छ । नियमित क्रिकेट नै खेल्न नपाउनु नै महिला टिमको कमजोर पक्ष बन्यो । पर्याप्त समय नहुनु र क्रिकेट हाँक्नेले बेवास्ता गरिदिनु । अब यतातिर पनि सोच्ने हो कि ∕

Share.

Leave A Reply