अबको पाँच वर्ष “समृद्ध गैँडाकोट महाअभियान बर्ष”, नगरका योजनामा बिद्युत उत्पादनदेखि सपिङ कम्प्लेक्स निर्माण सम्म

0


श्रीधर उपाध्याय
गैँडाकोट, २७ असार । गैँडाकोट नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷७५ का लागि करिब ४४ करोड बराबरको आयव्ययको अनुमान गरेको छ । मंगलबार आज भएको नगरसभामा आगामी आर्थिक वर्षका लागि ४३ करोड ६९ लाख ५२ हजार रुपैँया बराबरको बजेट हुने अनुमान गरिएको छ । नगरसभामा उपप्रमुख विष्णुकुमारी कंडेलले आगामी आर्थिक वर्षको बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आन्तरिक स्रोतबाट ४ करोड ७८ लाख २ हजार र बाह्य स्रोतबाट ३८ करोड ९१ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको छ । यस्तै आगामी आर्थिक वर्षमा चालु खर्च तर्फ १५ करोड २० लाख ७१ हजार र पूँजीगत खर्चतर्फ २८ करोड ४८ लाख ८० हजार खर्च हुने अनुमान गरिएको छ ।
नगरसभाले गैँडाकोटलाई समृद्ध बनाउने लक्ष्यकासाथ आगामी ५ वर्षको कार्याकाललाई “समृद्ध गैँडाकोट महाअभियान वर्ष”को रुपमा विभिन्न कार्यक्रम अघि सार्ने जनाएको छ ।
नगरसभामा प्रस्तुत नीतितथा कार्यक्रममा गैँडाकोट चक्रपथ निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन आगामी आर्थिक वर्षभित्र तयार पारिने जनाइएको छ । यस्तै सडक सौर्य बत्ती योजनालाइ प्राथमिकता दिदै उज्यालो नगर बनाउने अवधारणा अगाडि सारिएको छ । यस्तै नगरपालिकाको पहल र सहकार्यमा गण्डकीको पानीमा गैँडाकोटको लगानी अवधारणा अनुरुप जलविद्युत उत्पादनका लागि थुम्सीमा पावर हाउस निर्माण गर्ने गरी सम्भाव्यता अध्ययन गरिने बताइएको छ ।


देवघाटदेखि अमरापुरीसम्म २८ किलोमिटर दूरीको नारायणी नदी किनारमा त्रिमार्गको रुपमा जलमार्ग, सडकमार्ग र पैदल मार्ग निर्माणका लागि अध्ययन अगाडि बढ्ने नीति तथा कार्यक्रममा समेटिएको छ । यस्तै वाडनं. १८ को बोचोखोलाको चुनखानी, दमार, र आहालेको बीचमा रहेको कोइलाखानी, मौलाकालिका मन्दिरको उत्तरमा रहेको कोइलाखानीको अध्ययन गरी संचालनकालागि नेपाल सरकारसंग पहल गरिने जनाइएको छ ।
आर्थिक विकास नीति अन्र्तगत कृषकसंग प्राविधिक कार्यक्रम अघि बढ्ने बताइएको छ । गैँडाकोट नगरक्षेत्रभित्र पशुपालनमा संलग्न किसानका लागि निशुल्क भेटनरी सेवा उपलबध गराउने व्यवस्था मिलाइने बताइएको छ ।
नगरपालिकाले प्रवर्धनात्मक र प्रेरणात्मक अभियान अन्र्तगत गैँडाकोट वर्ष व्यक्तित्व, खेलकुद, करदाता, कर्मचारी, पत्रकारिता, शिक्षा, युवा, जेष्ठनागरिकलाई प्रत्येक वर्ष सम्मान गर्ने कार्यक्रम पनि अघि सारेको छ ।
खेलकुद क्षेत्रअन्तर्गत गैँडाकोट ६ र ७ को नारायणी नदि नजिकको सार्वजनिक खुल्ला चौरमा विपी अन्र्तराष्टिय खेलग्राम, गैँडाकोट १३ को सुनवर्षा र १० को संयुक्तचोक मैदानलाई मनमोहन रंगशालाको रुपमा विकास गरिने भएको छ ।
यस्तै पर्यटनपूर्वाधार जिविकोपार्जनको आधार भन्ने नाराका साथ वाडनं. ३ को हर्दि केलादी र डोढेनी वडा नं. १८ गडाम्दी र दमार १६ र १७ लाई तरकारी सहकारी अभियान अन्तर्गत कृषि पर्यटन केन्द्रका रुपमा विकास गरिने जनाइएको छ ।
गैँडाकोट नगरपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत हाल इलाका प्रहरीकार्यालय रहेको करिब ७ रोपनी जग्गामा अत्याधुनिक गैँडाकोट सपिङ कम्पलेक्स निर्माण गर्न नगरविकास कोषबाट लगानीका लागि प्रक्रिया अघि बढाउने उल्लेख रहेको छ ।
गैँडाकोट २ को श्रीराम पार्टी प्यालेशमा भएको नगरसभाले नगरका ५ वर्षमुनिका बालबालिका र ६० बर्ष माथिका नागरिकहरुलाई स्थानीय स्वास्थ्यसंस्थाहरुबाट निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाउने जनाएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गरिएपछि जनप्रतिनिधिले आफ्ना वडाबाट नपरेका योजना, सच्चाउनुपर्ने अथवा थपगर्नुपर्ने योजनाका बारेमा प्रष्ट पारेका थिए । गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले छोटो समयमा नीति तथा कार्यक्रम बनाइएकाले छुटपुट कुरा र सुझाबमा आएका योजनाहरुलाई पनि पछि समेटिने बताउनुभएको थियो ।

 

photo: Govinda Ghimire

Share.

Leave A Reply