अक्स्फोर्ड कलेज गैडाकोटलाई छैटौं पटक गोल्डमेडल

0

गैडाकोट, २१ चैत्र । गैँडाकोटमा अवस्थीत अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले बिगत आठ वर्ष भित्रमा छैंटौ पटक गोल्ड मेडल प्राप्त गरेको छ ।

पोखरा विश्वविद्यालयको बुधबार सम्पन्न १६ औं दिक्षान्त समारोहमा विज्ञान तथा प्रविधि संकायतर्फ सञ्चालित बीसीए कार्यक्रममा कूल ४ मा विद्यार्थीले ३.९२ ल्याउन सफल भएसँगै कलेजले फेरि पनि गोल्डमेडल प्राप्त गर्न सफल भएको हो ।

कलेजले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टका मेधावी छात्र नविनकुमार कलवारलाई विश्वविद्यालयका सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोख्रेलले ओसीईएम गोल्ड मेडल प्रदान गर्नुभएको हो ।

विश्वविद्यालयको इतिहासमा अक्स्फोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले बीबीएतर्फ ४२ जना, बीसीएतर्फ ३५ र इन्जिनियरिङ तर्फ ६ जना गरी जम्मा ८३ जना विद्यार्थीलाई डिन लिस्टमा समावेश गराइसकेको छ ।

यसैविच कलेजले चैत १७ गते राति बारा र पर्सा जिल्लामा रहेको भरवलिया–हरजन गाउँ बस्तीमा अचानक आएको हावाहुरीबाट प्रभावित घर परिवारलाई राहत वितरण गरेको छ । कलेजले खाद्यान्न लगायत लत्ताकपडासहितको राहत सामग्री बितरण गरेको हो । उक्त राहत वितरण कार्यमा कलेजका तर्फबाट तिलकराम पन्थी र नारायण सापकोटाले नेतृत्व गरेका थिए भने प्राध्यापक, कर्मचारी र विद्यार्थीसहित करिब ८० जनाको सहभागिता रहेको कलेजले जनाएको छ ।

कलेजका प्राध्यापक तथा कर्मचारीहरु एवम् विद्यार्थीबाट संकलन गरेर राहत सामग्री बोकेर गएको टोलीले बारा र पर्साको सिमानामा पर्ने भरवलिया हरजन बस्तीका पीडितहरुलाई स्थानीय वडा अध्यक्ष र प्रहरी प्रशासनको रोहवरमा प्रभावित १५० परिवारलाई प्रत्यक्षरुपमा घरघरमा गई राहत सामग्री वितरण गरेको थियो ।

Share.

Leave A Reply